रेडियो समग्रको छैठौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न, तीन व्यक्तित्व सम्मानित
लहान, ६ असोज ।
साझा सवालका लागि साझा अवाज भन्ने मुल उद्घोषका साथ समग्र जन उत्थान केन्द्र लहानद्धारा संचालित सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्ज सातौ वसन्त उत्सवमा प्रवेश गरेको अवसरमा छैठौं वार्षिक उत्सव समारोह असोज ५ गते भव्यताका साथ सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष विश्व शान्ति दिवसका दिन पारेर मनाउने गरेको रेडियो समग्रको छैठौं वार्षिक उत्सवको अवसरमा तीन जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा मैथिल गीत संगितको क्षेत्रमा उल्लेख्यनीय योगदान दिए वापत दृष्टि विहिन युवा गायक तेजनारायण यादव ( तेजु मैथिल), समाजसेवी धिरेन्द्र साह छन् । त्यसैगरी रेडियो समग्रमा वर्षभरि काम गरेका कर्मचारीहरु मध्ये एक जनालाई उत्कृष्ट कर्मचारीको सम्मान गर्ने क्रममा यस वर्ष स्थापनाकालदेखि कार्यरत कार्यक्रम सञ्चालिका एवम् कार्यालय व्यवस्थापक पुष्पा गौतमलाई सम्मान गरेको छ ।
तीनै जनालाई कार्यक्रमका विशिष्ट अतिथि सर्च फर कमन ग्राउण्ड नेपालकी प्रोजेक्ट म्यानेजर मीना शर्माले सम्मान पत्र प्रदान गर्दै दोसला ओढाई सम्मान गर्नुभएको थियो ।
पूर्व स्टेशन म्यानेजर समेत रहनु भएका रेडियो सञ्चालक संस्था समग्र जन उत्थान केन्द्रका प्रोग्राम म्यानेजर रामभरोसी महतोले सो अवसरमा रेडियोको स्थितीबारे जानकारी प्रस्तुत गर्दै अगामी दिशा निर्देशको बारेमा चर्चा गर्नुभएको थियो ।
रेडियो समग्रका अध्यक्ष भैरव प्रसाद गेलालको अध्यक्षतामा भएको छैठौं वार्षिक उत्सवमा विशिष्ठ अतिथि मीना शर्माले रेडियो समग्रले सुमदायमा मानवअधिकार र शान्ति निर्माण सम्बन्धी सन्देश प्रवाह गरी छुटै पहिचान कायम गरेको बताउनु भयो । वहाँले समुदायमा पछाडी पारिएका समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु सुझाव समेत व्यक्त गर्नुभयो ।
यस्तै सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रिय सदस्य सुनिल कुमार साहले समुदायलाई सुुसुचित गर्ने सवालमा जिल्लाका रेडियोहरुले एक अर्कासंग सहकार्य गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
यस्तै नेपाल पत्रकार महासंघ सिरहाका सचिव समेत रहनु भएका गोरखापत्र दैनिकका लहान समाचारदाता जिवछ यादवले जिल्लामै रेडियो समग्रको टिम राम्रो रहेको भन्दै जिल्लाको रेडियोहरुलाई समेत मुलधारमा ल्याउनका लागि नेतृत्व लिनु पर्ने बताउनु भयो ।
यस्तै नागरिक दैनिकका सिरहा प्रतिनिधि मिथिलेश यादवले राष्ट्रिय स्तरका मिडियाहरुले उठाउन नसकेका स्थानीय सवाललाई समेट्दै समाचार प्रसारणमा सामुदायिक रेडियोहरु जुट्न नसकेको भन्दै स्थानीय सवालमा विषेश केन्द्रित भएर समाचार प्रसारणमा जुटन सके सम्बन्धित निकाय जिम्मेवार हुन बाध्य हुने बताउनु भयो ।
सञ्चारक्षेत्रमा काम गर्नेहरुको निराशाको दिन गइसकेको तर्क गर्नु हुदै सञ्चारकर्मी मिथिलेशले काम गर्नेहरुको लागि नेपाली पत्रकारिताले नाम र राम्रो दाम दिन सक्ने अवस्था सृजना गरिदिएको बताउनु भयो । वहाँले जोसँग लेखन सीप छ, जसले नयाँ दृष्टिकोणबाट लेखन गर्न सक्छ र लेखिरहने व्यक्तिलाई आफ्नो अवश्यकता पूर्ति गर्न अरुको मुख ताक्नु पर्ने दिन समाप्त भइसकेको दावी गर्नुभयो ।
सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्जको उदाहरण दिँदै सञ्चारकर्मी मिथिलेशले जिल्लामा संचालित अन्य एफएमहरु भन्दा यो एफएमले आफ्नो कार्यनीति अनुसार दर्जनौं सञ्चारकर्मीहरुलाई अवसर र रोजगार दिएको बताउनु भयो ।
कार्यक्रममा लहान सिटि जेसिजका पाण्डव हमाल, गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्ट, एभरेष्ट क्लेज लहानका प्रमुख धरनीधर अधिकारी, लाइन्स क्लवका चक्रपाणी दाहाल, सेख मिडया हाउसका अध्यक्ष फिरोज शेख लगायतले रेडियोको बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
