इन्जाद्धारा विभिन्न पत्रकारलाई पुरस्कार प्रदान, इन्जा ग्रामिण पत्रकारिता पुरस्कारबाट रेडियो समग्र पुरस्कृत
काठमाण्डौं, फाल्गुण १७ गते ।
समग्र जन उत्थान केन्द्र लहानद्धारा साझा सावालका लागि साझा आवाज भन्ने मूल उदघोषका साथ सञ्चालित सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्ज इन्जा ग्रामिण पत्रकारिता पुरस्कारबाट सम्मानित भएको छ ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)ले आफनो स्थापना दिवसको अवसर पारेर फाल्गुण १७ गते काठमाण्डौमा आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा रेडियो समग्र एफ.एम. १०७ मेगाहर्जलाई पुरस्कृत तथा सम्मान गरेका हुन् ।
इन्जाले नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिदै आएका चार अग्रज पत्रकारलाई सम्मान गर्नुको विभिन्न विधाका पत्रकारितामा पुरस्कृत तथा सम्मान गरेका हुन् ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)का एशिया अध्यक्ष टंक पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो पुरस्कार वितरण तथा पत्रकारलाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा अग्रज पत्रकार सम्मानबाट सामुदायिक रेडियो प्रसारक संघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार रघु मैनाली, वरिष्ठ पत्रकार कुमार यात्रु, सम्पादक समाजका संरक्षक किरण बैद्य र जागरण मिडियाकी कमला विश्वकर्मा सम्मानित हुनु भएको हो ।
यसैगरी इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल, र माधव तिवारी, इन्जा खोजी पत्रकारिता पुरस्कारबाट मातृका दाहाल, तारा वाग्ले, इन्जा ग्रामिण पत्रकारिता पुरस्कारबाट सिरहाको लाहानस्थित रेडियो समग्र १०७ मेगाहर्ज, र सरिता चलाउने र फोटो पत्रकार द्वय नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ पुरस्कृत हुनुभएको छ । यसरी पुरस्कृत हुनेहरुलाई जनही पचास हजार नगद राशीसहित सम्मान पत्र प्रदान गएिको थियो ।
पुरस्कार तथा सम्मान कार्यक्रमलाई संबोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरुको प्रोत्साहनका लागि इन्जाले गरेको कार्यलाई प्रशांषा गर्दै पत्रकारहरुको हकहित र संरक्षणका लागि आफनो भूमिका सकारात्मक रहने बताउनुभयो । वहाँले विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसंगै पत्रकारिता क्षेत्रको भुमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गर्नुभयो । वहाँले देश र जनताको हितमा खोजी र अनुसन्धानमुलक पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाव व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गिता खड्का, प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, सञ्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवाले नेपाली पत्रकारिता र अवस्थाको बारेमा आआफ्नो धारणा राख्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
इन्जाका एसिया सचिव दिपु पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा इन्जाको स्थापना एवम् क्रियाकलापको बारेमा इन्जाका ग्लोवल अध्यक्ष गुणराज लुइँटेल प्रकाश पार्नुभएको थियो ।
