बालबालिका मानवअधिकार रक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम शुरु
रंजिता सिंह
बर्दिवास, २२ श्रावण ।
सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) द्धारा बालबालिका मानवअधिकार रक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम मधेश प्रदेशको वर्दिवासमा श्रावण २२ गतेदेखि शुरु भएको छ ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सिजप राष्ट्रिय अध्यक्ष मिना शर्माले बालबालिका मानवअधिकार रक्षकहरुलाई राष्ट्रिय कानून तथा अन्तराष्ट्रिय मानवअधिकारसम्बन्धी दस्तावेजमा व्यवस्था भएका बालबालिकाको मानवअधिकारसम्बन्धी सिद्धान्त तथा प्रावधानबारे ज्ञान अभिवृद्धि गरी आफ्नो तथा आफ्ना दौतरीहरुको अधिकार प्रवद्र्धन, संरक्षण तथा परिपूर्तिका लागि आफ्ना भूमिकाबारे जान्न र तिनलाई व्यवहारमा प्रयोग गर्न क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
तालिमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष शर्माले समाजमा विद्यमान भेदभावजन्य अभ्यासका कारण कतिपय बालबालिका आफ्ना आधारभुत अधिकार उपभोग गर्नबाट वञ्चित भएका छन् भने विभिन्न कारणले अहिले पनि बालबालिकाहरु बालअधिकारको अनुभुति गर्न नसकेको अवस्थामा बालअधिकारको संरक्षण र सम्बद्र्धन गर्नको लागि बालबालिका मानवअधिकार रक्षकहरुले गाउँ–गाउँमा अभियान चलाउनु पर्ने बताउनु भयो । अध्यक्ष शर्माले बालबालिका मानवअधिकार रक्षकले बालअधिकार संरक्षण र सम्वद्र्धनका लागि काम गर्ने क्रममा आउने जोखिमप्रति सजक रहेर जिल्ला जिल्लामा बालबालिका मानवअधिकार रक्षक सञ्जाल गठन गर्नु पर्नेमा जोड दिनुभयो ।
श्रावण २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने सो तालिममा मधेश प्रदेशका सिरहा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका गरी २२ जना बालबालिका मानवअधिकार रक्षकहरुको सहभागीता छन् । तालिममा बालअधिकार तथा मानव अधिकारको अवधारणा, मान्यता तथा सिद्धान्तहरू, बालअधिकार सम्बन्धी महासन्धी, बालअधिकारका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति तथा कानुन, बालअधिकारका लागि नेपालमा भएका प्रयासहरु, बालसंरक्षण, बालसंरक्षणका सवाल, बालबालिका मानवअधिकार रक्षकको परिचय, अधिकार दायित्व तथा चुनौति लगायतका विषयमा सहजीकरण हुने सो तालिममा मानवअधिकारकर्मी एवम् समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतो प्रशिक्षक छन् ।
