आठ दिने वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी तालिम सम्पन्न
सिरहा, असोज ७ गते। सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४, निपनिया टोलमा लघुवित्त समूहमा आबद्ध महिला सदस्य तथा स्थानीय महिलाहरूका लागि भदौ २५ देखि संचालित आठ दिने वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी तालिम असोज २ गते सम्पन्न भएको छ।
JOA को आर्थिक सहयोग तथा Habitat for Humanity को साझेदारीमा सहारा नेपालद्वारा आयोजित तालिममा मिथिला लघुवित्त संस्थामा आबद्ध सदस्यसहित स्थानीय महिला तथा पुरुष गरी २१ जनाको सक्रिय सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य सहभागीहरूको वित्तीय साक्षरतासम्बन्धी आधारभूत ज्ञान तथा सीप अभिवृद्धि गर्नु, आवश्यकता र चाहनाबीचको फरक पहिचान गर्न सक्षम बनाउनु, बचत गर्ने बानीको विकास गर्नु, जिम्मेवार खर्चप्रति सचेत गराउनु तथा पैसा सम्बन्धी सही र जिम्मेवार निर्णय लिन सक्ने क्षमता विकास गर्नु रहेको थियो। साथै, बैंकिङ सेवा, डिजिटल भुक्तानी प्रणाली, वित्तीय जोखिम, बीमा तथा सुरक्षित आवाससम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यसमेत राखिएको थियो।
तालिम अवधिमा वित्तीय साक्षरताको परिचय, परिवारका प्राथमिकता, आवश्यकता र चाहना, पारिवारिक योजना तथा वित्तीय लक्ष्य निर्धारण, वित्तीय सेवा प्रदायक तथा सेवाको छनोट, लघु व्यवसाय तथा व्यवसायिक योजना, विप्रेषण, मोबाइल तथा विद्युतीय बैंकिङ सेवाको सुरक्षित प्रयोग, सुरक्षित आवास व्यवस्थापन, जोखिम व्यवस्थापन तथा गुनासो व्यवस्थापन लगायतका विषयमा छलफल तथा अभ्यास गरिएको थियो।
प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई व्यवहारिक तथा अन्तरक्रियात्मक विधिबाट विषयवस्तुमा सहजीकरण गरिएको थियो। तालिमको सहजीकरण वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी प्रशिक्षक प्रशिक्षण (ToT) प्राप्त सहजकर्ताहरूले गरेका थिए।
कार्यक्रमको पहिलो दिन सहारा नेपालका सिरहा जिल्ला अधिकृत राम भरोसी महतोले सहारा नेपाल, Habitat for Humanity तथा होम्स नेपाल परियोजनाबारे जानकारी गराउँदै तालिमको उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभएको थियो। तालिमको सहजीकरण गंगामाया श्रेष्ठ तथा वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी प्रशिक्षक प्रशिक्षण प्राप्त प्रियंका कुमारी महतोले गर्नुभएको थियो।
तालिमबाट सहभागीहरूमा वित्तीय ज्ञान तथा सचेतना अभिवृद्धि हुनुका साथै बचत गर्ने, जिम्मेवार रूपमा खर्च गर्ने र वित्तीय निर्णय सोचविचारपूर्वक गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ। साथै, बैंक तथा डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगप्रति आत्मविश्वास बढ्नुका साथै वित्तीय जोखिम तथा ठगीबाट बच्ने क्षमता अभिवृद्धि हुने विश्वास गरिएको छ। सुरक्षित आवाससम्बन्धी ज्ञानले सहभागीहरूलाई सुरक्षित, व्यवस्थित तथा जोखिम न्यूनीकरणयुक्त आवास व्यवस्थापनतर्फ समेत प्रेरित गर्ने अपेक्षा गरिएको छ।
समापन समारोहमा सहभागीको जोड
तालिमको अन्तिम दिन आयोजित समापन समारोहमा गैरसरकारी संस्था महासंघ नेपाल, सिरहा शाखाका संयोजक गोविन्द विष्ट, जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव, मिथिला लघुवित्त संस्था चोहर्वा शाखाका शाखा प्रमुख रामानन्द यादव, महिला अधिकारकर्मी रीता महतो, सञ्चारकर्मी महेश सिंह तथा किशोरी समूहका प्रतिनिधिहरू लक्ष्मी महरा र करुणा साह लगायतको सहभागिता रहेको थियो।
समापन समारोहमा बोल्दै गैरसरकारी संस्था महासंघ सिरहा शाखाका संयोजक गोविन्द विष्टले महिलाहरूले बचतलाई प्राथमिकता दिनुपर्ने बताउँदै महिलामा वित्तीय साक्षरता अभिवृद्धि भएमा परिवार तथा समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादवले महिलाहरूको आर्थिक सशक्तीकरण र आर्थिक परिवर्तनका लागि वित्तीय साक्षरता आवश्यक रहेको बताउनुभयो। उहाँले महिलाहरूलाई वित्तीय ज्ञान र सीप प्रदान गर्नु उनीहरूको आत्मनिर्भरता तथा आर्थिक निर्णय क्षमताका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
मिथिला लघुवित्त संस्था चोहर्वा शाखाका प्रमुख रामानन्द यादवले आफ्ना संस्थामा आबद्ध सदस्यहरूले यस्तो महत्वपूर्ण तालिम प्राप्त गर्नुका साथै प्रमाणपत्रसमेत प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले तालिमबाट सदस्यहरूमा वित्तीय अनुशासन बढ्दै जाने र त्यसले परिवार तथा समाजको आर्थिक प्रगतिमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सञ्चारकर्मी महेश सिंहले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सकेमा मात्र तालिमको वास्तविक सफलता हासिल हुने बताउनुभयो। उहाँले वित्तीय साक्षरता सबैका लागि आवश्यक भए पनि ग्रामीण महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले समुदायको आर्थिक रूपान्तरणमा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
महिला अधिकारकर्मी रीता महतोले महिलाहरू घरायसी काममा मात्र सीमित नभई आयआर्जन हुने साना तथा घरेलु व्यवसायमा संलग्न भएर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो। उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणसँगै स्थानीय तहको नेतृत्वमा समेत महिलाहरूको अर्थपूर्ण सहभागिता बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो।
सहभागीको अनुभव
तालिमका सहभागी पुनम रामले वित्तीय साक्षरता तालिमले आफूलाई आर्थिक अनुशासनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको बताउनुभयो। उहाँले यस्तो तालिम जीवनमा कम्तीमा एकपटक सबैले लिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
अर्की सहभागी विद्या साहले तालिमले बचत बढाउन र अनावश्यक खर्च घटाउन आवश्यक सीप प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार तालिमले पैसा सम्बन्धी सही ज्ञान र व्यवहारिक सीप प्रदान गरेकाले आगामी दिनमा आर्थिक निर्णय लिँदा अझ जिम्मेवार र सोचविचारपूर्ण निर्णय लिन सक्ने आत्मविश्वास बढेको छ।
आठ दिने तालिमले ग्रामीण समुदायका महिला तथा अन्य सहभागीहरूमा वित्तीय ज्ञान, व्यवहारिक सीप र सुरक्षित आवाससम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै बचत, जिम्मेवार खर्च, सुरक्षित वित्तीय सेवा प्रयोग, जोखिम व्यवस्थापन र आर्थिक आत्मनिर्भरताको आधार निर्माण गर्न योगदान पुर्याएको आयोजकले जनाएको छ।
