विश्व वित्तीय सप्ताहको अवसरमा सिरहा जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सिराहा, चैत ५ । प्रत्येक वर्ष मार्च १६ देखि २२ मा विश्व भरि मनाउने विश्व वित्तीय सप्ताह सिरहा जिल्लाको सिरहा नगरपालिका –९, गुलरियामा अवस्थित श्री बहिरा माध्यमिक विद्यालको प्राङ्गणमा चैत्र ४ गते विविध कार्यक्रम गरिे मनाईएको छ ।
यस अवसरमा Jersey Overseas Aid (JOA) को वित्तीय सहयोग र हेविट्याट फर ह्यूम्यानिटी नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा सञ्चालित HOMES Nepal ( Housing Opportunities for Microfinace Empowerment Solutions) परियोजना र नेपाल विमा प्राधिकरण मधेश प्रदेश कार्यालयको सहकार्यमा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।
त्यसैगरी, कक्षा १ र २ का विद्यार्थीहरूलाई खुत्रुकेको चित्रमा पेन्टिङ गराइएको थियो भने कक्षा ३ र ४ का विद्यार्थीहरूलाई “पैसा चिनौँ, रङ भरौँ” र विद्युतीय बित्तीय सेवा अन्र्तगत मोबाइलको चित्रमा पेन्टिङ मार्फत वित्तीय सचेतना प्रदान गरिएको थियो। सो पेंटिंग कार्यक्रमलाई हेविट्याट फर ह्यूम्यानिटी नेपालका वरिष्ठ कार्यक्रम संयोजक प्रिया तामाङ, संचार संयोजक अभिषेक बिष्ट र परियोजना अधिकृत अनुज्ञा कुमारी मिश्रले सहजिकरण गर्नु भएको थियो।
विद्यार्थीहरूमा वित्तीय साक्षरतासम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नु, बचत गर्ने बानीको विकास गराउनु, जिम्मेवार खर्चबारे सचेत गराउनु तथा बैंकिङ सेवा, डिजिटल भुक्तानी प्रणाली र वित्तीय जोखिम तथा बिमा बारे जानकारी प्रदान गर्ने उदेश्यले गरिएको सो कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा हेविट्याट फर ह्यूम्यानिटी नेपालको तर्फबाट व्यवस्थापक भुषण कार्कीले बिश्व वित्तीय सप्ताह र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । त्यसैगरी हेविट्याट नेपालका कार्यक्रम संयोजक माधव चौरेल र सहारा नेपालका तर्फबाट HOMES Nepal परियोजनाको कार्यक्रम व्यवस्थापक किसन गौतमले वित्तीय साक्षरताको परिचय, बचतको महत्व, डिजिटल भुक्तानी प्रणाली, खर्च व्यवस्थापन तथा वित्तीय ठगीबाट बच्ने उपायबारे संयुक्त प्रस्ततिकरण गर्नुहुदै सहजीकरण गर्नु भएको थियो । सहभागी विद्यार्थीहरूमाझ अन्तरक्रियात्मक छलफल, प्रश्न–उत्तर सत्र तथा आवश्यकता र चाहना तथा वित्तीय खेलमार्फत व्यवहारिक सिकाइ पनि गराइएको थियो।
यसैगरि कार्यक्रममा बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावल लगायतका टिमले बिमाको महत्व, उपयोगिताबारे सचेतिकरण गर्दै वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण गर्नु भएको थियो । विशेषगरी बहिरा विद्यार्थीहरूमा बिषयवस्तुको बुझाई सुनिश्चित गर्न विद्यालयमा कार्यरत संकेत भाषा शिक्षक तथा द्विभाषीको प्रयोग गरिएको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाएको सहारा नेपालका सिराहा जिल्ला अधिकृत रामभरोसी महतोले जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी तथा सो विद्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थीलाई सहारा नेपाल, ह्यबिट्याट नेपाल र बिमा प्राधिकरणले शैक्षिक सामग्री बितरण गरिएको जिल्ला अधिकृत महतोले जानकारी दिनुभयो ।
कार्यक्रमबाट विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सचेतनामा वृद्धि हुनुका साथै बचत गर्ने र जिम्मेवार खर्च गर्ने बानी विकास हुने अपेक्षा गरिएको छ । साथै, बैंक तथा डिजिटल वित्तीय सेवा प्रयोगप्रति आत्मविश्वास बढ्नुका साथै वित्तीय जोखिम तथा ठगीबारे सजगता अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
विद्यालयका प्रधानाध्यापक भोला प्रसाद यादवले यस्ता कार्यक्रमले बालबालिकाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सक्षम र जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने बताउनु भयो ।
सहारा नेपालका परियोजना व्यवस्थापक किशन गौतमका अनुसार विश्व वित्तीय सप्ताहको अवसरमा मधेश प्रदेशका सिराहा, धनुषा, सप्तरी तथा कोशी प्रदेशका उदयपुर र सुनसरी जिल्लामा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।
