सूचना दिन चन्द्र उच्च मा.वि.सिरहालाई जिल्ला शिक्षाको निर्देशन
शुभ नारायण कामती
सिरहा, ३ कार्तिक ।
सूचनाका लागि सिरहाका चन्द्र उच्च मा.वि.मा पेश गरिएको निवेदन प्राचार्यले दर्ता गर्न नमानेपछि माँग अनुसारका सूचना उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालय सिरहाले निर्देशन दिएको छ ।
विद्यालयको आन्तरिक आम्दानी र खर्च लगायतका विवरण सम्बन्धि सूचनाका लागि अपन दैनिकले दिएको निवेदन सो विद्यालयका प्राचार्य मधुसुदन कर्णले दर्ता गर्न नमानेपछि जिल्ला शिक्षाले त्यस्तो निर्देशन दिएको हो ।
भ्रष्टाचारमा मुछिएका विद्यालय र विद्यालयका प्राचार्य मधुसुदन कर्णले भ्रष्टाचारजन्य कार्य लुकाउन निवेदन दर्ता गर्न नमानेको सामुदायिक सेवा केन्द्र सिरहाका उपाध्यक्ष नविन यादवले बताउनु भयो । प्राचार्य कर्णले निवेदन दर्ता नगरेर सूचनाको हक सम्बन्धि ऐन २०६४ लाई ढाड़ो उलघंन गरेकोले सम्बन्धित निकायले कार्यवाही गर्नुपर्ने वहाँले माँग गर्नुभएको छ ।
विद्यालयका प्राचार्य कर्णले विद्यालयको सत्त बार्षिकी कार्यक्रममा अनियमितता गरेको, राजिनामा गरिसके पश्चात शिक्षक तलब निकासा गराई खाएको, आफु खुशी टेन पल्स टु को भत्ता वितरण गरेको, कर्मचारीको पाँच महिनाको तलब भत्ता नदिई कतिपय शिक्षक तथा कर्मचारीको संचय कोषको रकम खाइदिएकोले विद्यालयका प्राचार्य उपर अख्तियारमा समेत उजुरी परेको छ । अख्तियारको निर्देशनमा जिल्ला शिक्षा कार्यालयले छानबिन गरिरहेको कार्यालयले जनाएको छ ।
