सिरहाको शैक्षिक अवस्था सुधारका लागि नेविसंघको आग्रह

लहान, १८ कार्तिक
सिरहा जिल्लाको शैक्षिक अवस्था दिनानुदिन खस्किदै गएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ठहर गरेको छ । संघले सिरहा जिल्लाको शैक्षिक अवस्था सुधारका लागि सिरहाका जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई आग्रह समेत गरेको छ ।
सिरहा जिल्लाको शैक्षिक अवस्था सुधारका लागि विभिन्न १२ सुत्रिय माँग राखि नेपाल विद्यार्थी संघ केन्द्रिय सहमहामन्त्री परमेश्वर साहको नेतृत्वमा गएको विद्यार्थीहरुले सिरहाका जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई हालै ज्ञापन पत्र बुझाएका हुन् ।
जिल्लाको शैक्षिक अवस्था दिनानुदिन खस्किदै गइरहेको प्रति नेपाल विद्यार्थी संघको ध्यान केन्द्रित भएको जनाउँदै शैक्षिक अवस्था सुधारका लागि १२ सुत्रिय माँग सहितको ज्ञापन पत्र कार्तिक ७ गते जिल्ला शिक्षा कार्यालय सिरहाका जिल्ला शिक्षा अधिकारी प्रविणलाल कर्ण र जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरलाई कार्यालय भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
नेविसंघले मापदण्ड विपरित संचालित निजी वोर्डिंग स्कुलहरु बन्द हुनुपर्ने, सामुदायिक विद्यालयमा पढाई लेखाईमा सुधार हुनुपर्ने, श्रोत केन्द्रहरुले नियमित विद्यालय अनुगमन गर्नुपर्ने, नेपाल सरकारले दिने भनिएको छात्रवृत्रि वितरणमा ढिला सुस्ति र अनियमितता देखिएकोले त्यस ढिला सुस्ति र अनियमितता गर्ने विद्यालयहरुलाई कार्वाही गर्नुपर्ने, स्वास्थ्य उपचारको लागि स्वास्थ्य केन्द्रहरुमा विदार्थीहरुलाई उपचार गराउन ५० प्रतिशत छुट दिनुपर्ने सरकाले गरेको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने लगायतका लगायतको १२ सुत्रिय माँग सहितको ज्ञापन पत्र बुझाइएको हो ।
माँग पुरा गर्न आलटाल भए कडा आन्दोलन गर्न नेपाल विद्यार्थी संघ बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।