जोखिममा परेका मानवअधिकार रक्षकहरुलाई इन्सेकद्धारा आर्थिक सहयोग

img1

लहान, २७ कार्तिक ।
अनौपचारिकक्षेत्र सेवा केन्द्र इन्सेकले जोखिममा परेका सिरहाका दुईजना मानवअधिकार रक्षकहरुलाई शनिवार सिरहाको लहानमा एक कार्यक्रमबीच आर्थिक सहयोग प्रदान गरेको छ ।  
सहयोग पाउनेहरुमा लहान नपा–२० का ३० वर्षीय सञ्चारकर्मी दिलिप सिहं र अर्नमा (प्र.पी.) गाविस–३ निवासी ३८ वर्षीया महिला मानवअधिकार रक्षक देवकुमारी महरा छन् ।
मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहाको संयोजनमा लहानस्थित समग्र जन उत्थान केन्द्र लहानको हलमा आयोजित जिल्लाको मानवअधिकारको अवस्था तथा जोखिम विषयक छलफल कार्यक्रममा उपस्थित मानवअधिकार रक्षकहरुवीच इन्सेक केन्द्रीय कार्यालयकी परियोजना संयोजक सारा न्यौपानेले जनही ५ हजार ५ सयका दरले नगद सहयोग प्रदान गरेका हुन् । उक्त रकम संचारकर्मी सिंहलाई र महराको रकम महिला मानवअधिकार रक्षक संजाल सिरहाकी सचिव गंगा अधिकारीलाई हस्तान्तरण गरिएको हो ।   
नयाँ पत्रिका दैनिकमा सिरहा सम्बाददाताका रुपमा कार्यरत पत्रकार सिंह मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुबाट जोखिममा परेका थिए भने ओरेक नेपाल सिरहामा कार्यरत महिला मानवअधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष देवकुमारी महरा बालविवाह बिरुद्धको अभियानका क्रममा पीडक समुदायबाट जोखिमपूर्ण अवस्थामा रहेकी हुँदा सुरक्षा र न्यायिक सहयोगकका लागि प्रोत्साहन स्वरुप रकम प्रदान गरिएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरका प्रलेख अधिकृत देवराज पोखरेलले बताउनु भयो ।
सोही क्रममा कार्यक्रममा उपस्थित अधिकारकर्मी र संचारकर्मीहरुले जिल्लाको मानवअधिकारको अवस्था तथा जोखिमका बारेमा छलफल गरेका थिए । सञ्जालका संयोजक रामभरोसी महतोको अध्यक्षतामा भएको सो छलफलमा उपस्थित मानवअधिकार रक्षकहरुले जिल्लाको मानवअधिकारको अवस्था र जोखिमको बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।