आज पुष्पलालको ४३औं स्मृति दिवस

लहान, ७ श्रावण : आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस।  नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन्। 
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। 
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।  
पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका  पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।